विराटनगर । किशोर विद्यार्थीहरुको जमघट र विद्यालय पोसाकमै हुक्का, चुरोटको सेवन गर्ने क्रम बढेपछि विराटनगर महानगरपालिकाले कडाइ गर्ने भएको छ । जथाभावी खुलेका चिया पसल, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने महानगरले जनाएको हो ।
धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीगँग छलफल गरी अबदेखि त्यस्तो कार्य रोक्नेसहित विभिन्न निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सम्बन्धित व्यवसायीलगायतको उपस्थितिमा भएको छलफलले विद्यालय पोशाक लगाएका र १८ वर्षमुनि युवायुवतीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्री नगर्ने निर्णय गरेको हो । बिक्री गरेको पाइए व्यवसाय दर्ता खारेज र सम्बन्धित निकायमा कारबाही सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।
हुक्का बार, चिया पसल र क्याफे अगाडि जथाभावी पार्किङ गरेका कारण आवतजावतमा समस्या भएको भन्दै पार्किङ पनि व्यवस्थित गरिने भएको छ । अबदेखि सबै व्यवसायीले अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्नेछ । निर्णय कार्यान्वयन भए–नभएको विषयमा अनुगमन गर्न नगर प्रहरीका प्रमुख राजन पौडेलको संयोजकत्वमा व्यवसायीसमेतको सहभागितामा अनुगमन समितिसमेत गठन गरिएको छ । समितिमा राजस्व महाशाखाका बासु भण्डारीसहित व्यवसायीहरु रमण भगत, सुमन खड्का, विवेक बडुवाल सदस्य रहेका छन् । अनुगमन समितिले निर्णय कार्यान्वयनको अवस्था, घरबहाल र व्यवसाय कर तिरे नतिरेको, सफाई कार्ड लिए नलिएको लगायत पनि हेर्नेछ ।
मेयर कोइरालाले विद्यार्थीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइए व्यवसाय नवीकरण नगर्ने बताए । छलफलमा सहभागी व्यवसायीहरुले महानगरको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनीहरुले विगतका कमीकमजोरी सुधारेर अब विद्यार्थी पोशाकमा आएका युवायुवतीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने बताए ।