
विराटनगर । प्रतिनिधि सभाका सभाका सभामुख देवराज घिमिरेले झापा आन्दोलनलाई कसैले भुल्न नसक्ने बताएका छन् । जीवन घिमिरेद्वारा लिखित पुस्तक कमरेड हिजो र आज कृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै हिजोको इतिहासबाट सिकेर वर्तमानमा त्यसबाट सरकारहरूले धेरै गर्नु पर्ने अवस्था रहेको बताए ।
राजनीतिले हिजोको कुरालाई भुल्न नहुने भन्दै, इतिहासको संरक्षण गर्न पालिका, प्रदेश र सङ्घीय सरकारले काम गर्न सुझाव दिए । नेकपा एमालेका नेता जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सो पुस्तकमा समेटिएका मुख्यपात्रहरुलाई सम्मानित गरिएको छ । पुस्तकका मुख्य पात्रहरूलाई जनही र अन्य पात्रहरूलाई सामूहिक रूपमा सम्मान गरिएको हो । विमोचनका अवसरमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विराटनगर १ की माधवी रिमाल, रामप्रसाद देवकोटा, हर्क चुम्वे, स्व.रमाप्रसाद रिजाललाई विशेष सम्मान गरिएको छ ।
त्यस्तै कुमार निरौला, लक्ष्मीप्रसाद उप्रेती, राधादेवी कामत, नारायणप्रसाद आचार्य, तारानाथ घिमिरे र मोहनकुमारी घिमिरेलाई पनि सम्मान गरेको छ । एमाले उपाध्यक्ष शाक्य काठमाडौमा धनी परिवारमा जन्मिएर पनि तत्कालीन निरङ्कुशता विरुद्ध लडेको र उनको प्रेरणाबाट नेपाली महिलाहरू आन्दोलनमा होमिएको ०४६ सालमा नेकपा माले झापा अध्यक्ष भएर आन्दोलनको नेतृत्व लिएको स्मरणमा सम्मान गरिएको लेखक घिमिरेले बताए । विराटनगर १ की रिमालको घरमा ०४६ को आन्दोलन सफल बनाउन जननेता मदन भण्डारी नेतृत्वमा नेपाली काँग्रेस र एमालेबिच सहमति भएको थियो । सोही अवसरको स्मरणमा उनलाई सम्मान गरिएको हो । ०४६ अघि काँग्रेस र एमालेबिच कुनै पनि विषयमा सहमति हुँदैनथ्यो । त्यसैगरि तत्कालीन नेकपा कोर्डिनेसन कमिटी गठन गरिएको थियो । सो कमिटीका भोलेन्टियरमा देवकोटा थिए ।
जनआन्दोलनका समयको सङ्कल्प गीति अभियानका अभियन्ता सुनसरी धरानका हर्क चुम्वे, ०४६ जनआन्दोलनमा नेपाली काँग्रेसका संयोजक रिजाललाई सम्मान गरिने भएको हो । प्रगतिशील लेखक सङ्घ नेपाल मोरङको आयोजनामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुस्तकको विमोचन र मुख्य पात्रहरूलाई सम्मान गरेका हुन् । एमाले केन्द्रीय सदस्य तथा कोसी प्रदेशका पूर्व मन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गरेका हुन् । पार्टी राजनीतिकसँग जोडिएका घटनाहरू, सो घटनामा संलग्न करिब ४ सय पात्रहरूका विषयहरू पुस्तकमा समेटिएको लेखक घिमिरेले बताए । उनकाअनुसार ‘कमरेड हिजो र आज’ श्रोत पुस्तकको हो । २०३६–०४६ आन्दोलनका समयका पात्रहरूका बारेमा थेसिस गर्न चाहनेहरूका लागि पुस्तक उपयोगी श्रोत हुने घिमिरेको भनाई छ ।