विराटनगर । कोशी प्रदेशको भ्रमणमा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बसाईको अन्तिम दिन स्काउटका विद्यार्थीसँग भेटघाट गरेकी छ्न् । विराटनगर स्काउट र विराटनगर ओपन स्काउट क्र्युको संयोजनमा विद्यार्थीले पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन् ।
भेटका क्रममा विद्यार्थीहरुले स्काउटमार्फत आफूहरुले गरिरहेको कामका बारेमा पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए । उनीहरुले भण्डारीसँग युवा पलायन रोक्न स्काउटबाट के गर्न सकिन्छ भन्दै सल्लाह समेत मागेका थिए । उनीहरुले लागू पदार्थको दुर्व्यसनीमा किशोर अवस्थादेखि युवाहरुको संलग्नता बढेको चिन्ता व्यक्त गर्दै यसलाई हटाउन के के गर्न सकिन्छ भन्दै सल्लाह समेत मागेका थिए ।
राजनीनिक भेटघाट भन्दा फरक यो अन्तरक्रिया पूर्वराष्ट्रपति भण्डारी पनि खुसीसाथ सहभागी भइन् । विद्यार्थीहरुको चासो र चिन्तालाई सुन्दै उनले केही सल्लाह समेत दिएको नेपाल स्काउट विराटनगर महानगरपालिकाका स्थानीय आयुक्त नवीन पहाडीले जानकारी दिए । भण्डारीले आफू राष्ट्रपति हुँदापनि स्काउटको विषयमा चासो राख्दै सल्लाह दिने गरेको भन्दै स्काउट जनचेतना जगाउन र स्वयंमसेवामा लाग्नका लागि प्रेरणाको श्रोत भएको बताइन् ।
उनले किशोर र युवाहरुलाई अनुशासित बनाउन सके राष्ट्रको भविष्य उज्वल हुने भन्दै यो काममा स्काउटको भूमिका रहेको बताइन् । कार्यक्रमका बीच विराटनगर ओपन स्काउट क्य्रु र नेपाल स्काउट विराटनगरले पूर्वराष्ट्रपति भण्डारीलाई मायाको चिनो स्वरुप तस्वीर समेत हस्तान्तरण गरेका थिए ।
विराटनगर ओपन स्काउट क्य्रुका अध्यक्ष तथा नेपाल स्काउट राष्ट्रिय कार्यकारी समिति सदस्य नवलप्रसाद उपाध्याय र नेपाल स्काउट विराटनगरका स्थानीय प्रमुख आयुक्त नवीन पहाडीले तस्वीर हस्तान्तरण गरेका थिए ।