
नयाँ दिल्ली – भारतको राजस्थान राज्यको झालावाड जिल्लास्थित बकानी गाउँमा एक अचम्मलाग्दो घटना सार्वजनिक भएको छ। विवाह भएको मात्र डेढ महिना पुगेकी एक महिलाले आफ्नै पतिको जिब्रो टोकेर छिनालेकी छिन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पीडित ३६ वर्षीय कन्हैयालाललाई गम्भीर अवस्थामा राजेन्द्र पब्लिक अस्पतालमा भर्ना गरिएको छ। घटना बिहीबार राति भएको बताइएको छ।
झगडाले डरलाग्दो रुप लियो
कन्हैयालाल र उनकी पत्नी रविनाको डेढ महिनाअघि विवाह भएको थियो। केही दिनअघि रविना माइत गएकी थिइन्, र बिहीबार उनका पिताले उनलाई श्रीमान्को घरमा ल्याएर छोडेका थिए।
त्यही रात श्रीमान्-श्रीमतीबीच विवाद भएको र झगडाकै क्रममा रविनाले कन्हैयालालको जिब्रो टोकेर छिनालेको परिवारले जनाएको छ।
आत्महत्याको प्रयास
घटनापछि रविनाले आत्महत्याको प्रयास गरेकी थिइन्। तर, परिवारका सदस्यहरूले समयमा नै थाहा पाएर सम्झाएपछि उनले आफ्नो निर्णय बदलेकी थिइन्।
प्रहरीमा उजुरी नपरेको
घटनाबारे प्रहरीलाई जानकारी गराइएको भए पनि हालसम्म कुनै औपचारिक उजुरी दर्ता भएको छैन। कन्हैयालालको स्वास्थ्य अवस्था र घटनाको थप अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।