
इलाम – इलाममा एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ।
फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव हराएको १५ दिनपछि फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शव उत्खनन गर्ने कार्य भइरहेको छ। उनले शव निकालिसकेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने बताए।
यस घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले कट्टेलका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ। कट्टेलको माइतीघर देउमाई नगरपालिका जितपुर रहेको छ। उनी यही चैत १ गतेदेखि बेपत्ता थिइन्। हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए।