
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले शान्तिपूर्ण जनविद्रोहका लागि एकताबद्ध हुन अपिल गरेका छन्। प्रहरी हिरासतबाट छुटेपछि उनले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका हुन्।
नेपालले आफूहरूद्वारा सञ्चालित शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै त्यसबारे अनुसन्धान गर्नुपर्ने माग समेत राखेका छन्। साथै, प्रधानमन्त्रीका ‘भड्काऊ’ अभिव्यक्तिको छानबिन गरी कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
‘मैले रिहाइ हुने क्रममा प्रहरी अधिकारीहरूसँग प्रधानमन्त्रीले आफ्ना पार्टीका कार्यकर्तालाई आन्दोलनकारीविरुद्ध हिंसात्मक आक्रमण गर्न दिएको निर्देशनबारे प्रश्न उठाएको छु,’ उनले उल्लेख गरेका छन्, ‘आन्दोलनमा घुसपैठ र सरकारी हस्तक्षेपका कारण भएको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ। हाम्रो पक्षबाट कुनै त्रुटि भए त्यसका लागि क्षमा माग्छौं, तर शान्तिपूर्ण आन्दोलन जारी नै रहनेछ।’