
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । उनी थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको निमन्त्रणामा गएका हुन् ।
भ्रमणका क्रममा दुई देशबीच पर्यटन र संस्कृतिसम्बन्धी ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछन् । ओलीले थाइल्यान्डका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्नेछन् भने नरेशसँग पनि भेटघाट हुनेछ ।
प्रधानमन्त्रीले २१ चैतमा व्यवसायीहरूसँग भेटघाट गरी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको कार्यक्रममा सम्बोधन गर्नेछन् । साँझ बिमस्टेकका नेताहरूको औपचारिक रात्रिभोजमा सहभागी हुनेछन् । २२ चैतमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गरेपछि विभिन्न मुलुकका प्रतिनिधिमण्डलसँग भेट्नेछन् ।
प्रधानमन्त्रीसँगै उनकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्यालसहित २१ सदस्यीय टोली सहभागी छ । ओली २३ चैतमा स्वदेश फर्किनेछन् ।