
काठमाडौं । सरकारले सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन्।
मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले चैत १५ गतेको प्रदर्शनका क्रममा सरकार असफल भएको भन्दै गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। कीर्तिपुरका सविन महर्जनको मृत्यु राज्यको कमजोरीका कारण भएको उल्लेख गर्दै उनले सुरक्षा संयन्त्रले नागरिकको रक्षा गर्न नसकेको आरोप लगाइन्।
“उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको स्पष्ट देखिन्छ,” सांसद गौतमले भनिन्, “त्यसैले मार्ग प्रशस्त गर्न राजीनामा दिनुपर्छ। अरू सक्षम व्यक्तिलाई जिम्मेवारी दिनु उचित हुन्छ।”
उनले सरकारकै अन्य मन्त्रीहरूमा पनि कमजोरी रहेको बताउँदै नेतृत्व परिवर्तनको आवश्यकतासमेत औंल्याइन्। सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले आम नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने माग राखिन्।