
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार बंगाल खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिमिस्टेक) को छैटौं सम्मेलनका अवसरमा उनीहरूबीच ‘साइडलाइन वार्ता’ तय गरिएको छ।
परराष्ट्रमन्त्री आरजु राणाको पहलमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको समन्वयपछि दुई देशका प्रधानमन्त्रीबीच भेट निश्चित भएको हो। यसअघि, गत असोज ६ गते न्युयोर्कमा ओली र मोदीबीच संक्षिप्त भेट भएको थियो।
यसैबीच, नेपाल सरकारले आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा ‘सगरमाथा संवाद’ आयोजना गर्दैछ। सो कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा दिइएको छ। परराष्ट्रमन्त्री राणाले गत चैत पहिलो साता नयाँ दिल्लीमा विदेशमन्त्री जयशंकरमार्फत औपचारिक निमन्त्रणा हस्तान्तरण गरेकी थिइन्।