११ बैशाख २०८२, बिहिबार

सुनिता डंगोलपनि रिसाइन बालेनसँग, दिइन कडा चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं साढे तीन महिनापछि कार्यालय फर्किएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई हाजिर गराउन एक महिनाअघि नै निर्देशन पठाएको थियो। सोही निर्देशनअनुसार गुरागाईं बिहीबार महानगरपालिका पुगेका हुन्।

तर, गुरागाईंको कार्यालय प्रवेश सहज भएन। उपप्रमुख सुनिता डंगोल, अधिकांश वडाध्यक्षहरू तथा कर्मचारीहरूले उनलाई स्वागत गरे पनि मेयर बालेन साहले नगर प्रहरी परिचालन गरेर अवरोध गर्ने प्रयास गरे।

गुरागाईं कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर साहले आफ्नो कार्यकक्षमा ताला लगाएर चाबी आफैंसँग राखेका थिए। सोही कारण केहीबेर गुरागाईं बाहिरै बस्न बाध्य भए। यस घटनापछि उपप्रमुख डंगोल र वडाध्यक्षहरूको बैठक बस्यो।

उक्त बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गर्दै भनिन्, “मन्त्रालयले पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनु स्वाभाविक हो। उहाँ हाजिर गर्न आउँदा झडप हुनु राम्रो होइन। कर्मचारी–कर्मचारीबीचको लडाइँ हुनु राम्रो होइन।”

उनले थप भनिन्, “महानगरपालिकाका हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले सेवा पाउनुपर्ने हो। हामीले क्यान्सर पीडितलाई समेत सहायता दिन सकेका छैनौँ। यदि छानबिन गर्नुपर्ने हो भने गरौँ, तर उनलाई यति लामो समय पीडामा राख्नु हुँदैन।”

वडाध्यक्ष र कर्मचारीहरूको असन्तुष्टि

बैठकमा वडाध्यक्षहरूले पनि मेयर साहको आलोचना गरे। उनीहरूले प्रशासनिक कामकाज ठप्प भएको, कर्मचारीहरूको तलबसमेत रोकिएको भन्दै असन्तुष्टि जनाए। प्रवक्ता नविन मानन्धरले समेत मेयर साहको व्यवहारप्रति आपत्ति जनाएका थिए।

नगर प्रहरी प्रमुख राजु पाण्डेले उपप्रमुख डंगोलको प्रश्नको जवाफ दिँदै भने, “मेयर साहको मौखिक आदेशमा नै कार्यकक्षमा ताला लगाइएको हो।”

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाइएपछि महानगरपालिकाका दैनिक प्रशासनिक कार्यहरू प्रभावित भएका छन्। कर्मचारीहरूको तलब रोकिएको छ भने सेवा प्रवाहमा समेत असर परेको छ।

यस घटनाले काठमाडौँ महानगरपालिकामा मेयर र प्रशासनिक अधिकृतबीचको द्वन्द्व झनै चर्किएको देखिन्छ। अब संघीय सरकार वा अन्य सम्बन्धित निकायले यस विषयमा के कदम चाल्छन् भन्ने प्रतीक्षा गर्नुपर्नेछ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क