
विराटनगर । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादविरुद्ध फराकिलो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा कोलकाताले हैदराबादलाई ८० रनले पराजित गर्दै आफ्नो दोस्रो जित निकालेको हो।
कोलकाताले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हैदराबाद १६.४ ओभरमै १२० रनमा अलआउट भयो। टोलीका लागि हेनरिच क्लासेनले सर्वाधिक ३३ रन बनाए भने कामिन्दु मेन्डिसले २७ रन र नितिश कुमार रेड्डीले १९ रनको योगदान दिए।
बलिङमा कोलकाताको दबदबा
कोलकाताका बलरहरू घातक देखिए। वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन मात्र खर्चेर ३ विकेट लिए। वैभव अरोराले ४ ओभरमा २९ रन दिएर ३ विकेट चट्काए। आन्द्रे रसलले २ विकेट लिँदा, सुनिल नरायन र हर्शित रानाले समान १-१ विकेट लिए।
अंकतालिकामा कोलकाताको उक्लाइ
यस जितसँगै ४ खेलबाट ४ अंक जोड्दै कोलकाता अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उता, समान खेलबाट केवल २ अंक जोड्न सफल हैदराबाद १०औं स्थानमा झरेको छ।
यो जितले कोलकाताको आत्मविश्वास थप उचाइमा पुर्याएको छ, भने हैदराबादका लागि आगामी खेलहरू झनै दबाबपूर्ण बन्नेछन्।