
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकाल्दै आफ्नो विजय यात्रालाई जारी राखेको छ। आइतबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरातले ४ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६.४ ओभरमै ३ विकेट गुमाएर सजिलै पूरा गर्यो। कप्तान शुभमन गिलले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६१ रनको इनिङ खेले भने वासिङटन सुन्दरले ४९ र शेरफन रदरफोर्डले अविजित ३५ रन बनाएर जितमा महत्वपूर्ण योगदान दिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो। नितिश रेड्डीले सर्वाधिक ३१ रन बनाए भने हेनरिच क्लासेनले २७ र कप्तान प्याट कमिन्सले अविजित २२ रनको योगदान दिए।
गुजरातका लागि बलिङतर्फ मोहम्मद सिराज सबैभन्दा प्रभावशाली रहे, उनले ४ ओभरमा मात्र १७ रन खर्चेर ४ विकेट झारे। प्रसिद्ध कृष्णा र साइ किशोरले २–२ विकेट लिएर हैदराबादको पारीलाई बाँधेर राखे।
यस हारसँगै हैदराबादले लगातार चौथो पटक हार बेहोरेको छ र ५ खेलमा २ अंक मात्रै जोड्दै १०औं स्थानमा यथावत् रहेको छ।