
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सहरको मुख्य समस्या खानेपानी भएको बताएका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले जीवन जिउन पानी अपरिहार्य भएको बताए।
“धुलो बाटोमा हिँड्न सकिन्छ, तर पानीबिना बाँच्न सकिँदैन,” उनले भने। उनका अनुसार सडक निर्माणभन्दा पहिले खानेपानी समाधान प्राथमिकता हो।
प्रधानमन्त्रीसँगको छलफल सकारात्मक रहेको भन्दै उनले करिब पाँच अर्ब रुपैयाँको लागतमा खानेपानी व्यवस्थापन गर्नुपर्ने योजना प्रस्तुत गरेको जानकारी दिए। प्रधानमन्त्री ओलीले बजेटमार्फत स्रोत व्यवस्थापनको आश्वासन दिएको उनले बताए।
“प्रधानमन्त्रीको आश्वासनप्रति शंका छैन, तर बजेट नआएसम्म विश्वास गर्न सकिन्न,” साम्पाङले प्रस्ट पारे।
उनले हालसम्म धरानमा तीन हजार धारा थपिसकेको बताए। तर सहरीकरण तीव्र रूपमा बढेकाले पानीको माग पनि दिनप्रतिदिन बढिरहेको उल्लेख गरे।
जीवनभर समस्या लागिरहने भन्दै उनले खानेपानी जस्तो आधारभूत आवश्यकता समाधानलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे।
काठमाडौंवासी मेलम्चीको नियमित पानी नपाएको विषयमा पत्रकारले प्रश्न गर्दा साम्पाङले हाँस्दै भने, “श्रमदान गर्न आउन पर्यो कि क्या हो!”