
काठमाडौं । फरार अवस्थामा रहेका व्यवसायी तथा नागरिक अगुवा दुर्गा प्रसाईं गुप्त स्थानबाट पुनः सार्वजनिक भएका छन् । आफ्नै सचिवालयको फेसबुक पेजमार्फत प्रसाईंले साढे आठ मिनेटको भिडियो सन्देश सार्वजनिक गरेका हुन्, जसमा उनले आफू हाल नेपालमै रहेको दाबी गरेका छन् ।
भिडियोमार्फत प्रसाईंले सरकारले आफ्नो सुरक्षाको ग्यारेन्टी गरे २४ घन्टाभित्रै सार्वजनिक हुने घोषणा गरेका छन् । “म भागेको होइन, जोगिएको मात्रै हो”, उनले भने, “म रहेँ भने यो अभियान र जनविद्रोह सफल हुन्छ, म नरहेँ भने यो जनविद्रोह नै समाप्त हुन्छ ।”
गत चैत १५ गतेको आन्दोलनका क्रममा मृत्यु भएका दुई युवाको परिवारलाई ५–५ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा पनि उनले गरेका छन् । “सरकारले राहत दिन्छ कि दिँदैन थाहा छैन, म चाहिँ निस्किएर आएपछि दिन्छु”, उनले भने ।
प्रसाईंले आफ्नो आलोचना गर्नेहरूप्रति पनि प्रतिक्रिया दिएका छन् । “धेरै मिडियामा मेरो विषयमा मिम बनाउने, मलाई जोकर बनाउने कुरा आए”, उनले गुनासो गरे, “मुर्गा प्रसाईं भनेर हिसाबकिताबको कुरा उठाइयो । तर हजार माइलको यात्रा शून्यबाट सुरु हुन्छ । भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने हो, यात्रा पनि एउटै व्यक्तिले सुरु गर्छ ।”
भिडियोको अन्त्यतिर उनले आफू अहिले ‘हरहर दुर्गा, घरघर दुर्गा’ भएको उल्लेख गर्दै, “दुर्गा भनेको विचार हो”, भन्दै आफ्ना समर्थकलाई अभियान जारी राख्न आह्वान गरेका छन् ।