
विराटनगर । केही दिन अघि धरानमा मृत अवस्थामा फेला परेकी एक महिलाको पहिचान खुलेको छ । धरानको पञ्चकन्या सामुदायिक वनमा मृत फेला परेकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको आफन्तहरुले पुष्टि गरेका छन् । उनी हाल सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी थिइन्। शवको पहिचान आफन्तहरूले गरेका हुन्।
चुनकुमारीका श्रीमान् प्रेम दाहाल वैदेशिक रोजगारीका लागि कोरियामा छन्। करिब दुई वर्षअघि छोरा पढाउनका लागि उनी इटहरीमा डेरा गरी बस्न थालेकी थिइन्।
सोमबार दिउँसो गोठालो गएका व्यक्तिहरूले धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार, महिलाको घाँटी कसेर हत्या गरिएको जस्तो देखिन्छ, र शवलाई लसुनेको रुखमुनि अडेस लगाएर छाडिएको थियो। शवको कम्मर मुनिको कपडा खोलिएको अवस्थामा फेला परेको थियो। अन्यत्र हत्या गरी शव घिसारेर ल्याइएको आशंका गरिएको छ।
शवको पहिचान खुलेपछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। यस क्रममा, तालिम प्राप्त कुकुरको समेत सहयोग लिइएको छ। प्रहरीले घटनाको प्रकृति हेर्दा घाँटी कसेर हत्या गरिएको र शवलाई लसुनेको रुखमुनि अडेस लगाएर छाडिएको देखिएको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
यसअघि, प्रहरीले घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत सहयोग लिएको थियो। इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ।
प्रारम्भिक अनुसन्धानबाट कर्तव्य गरी हत्या गरिएको देखिएको र गहिरो अनुसन्धान आवश्यक रहेको प्रहरीले जनाएको छ। शव हेर्दा हत्या भएको लामो समय नभएको देखिन्छ।