
विराटनगर । नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्काको नाम घोषणा गरिएको छ । मंगलबारबाट सुरू प्रदेश अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुलाई घर पठाएर अध्यक्ष मण्डलले उनको नाम घोष्णा गरेको हो । पाँचजना आकाँक्षी रहेको उम्मेदवारी दर्ता गराएको भएपनि अध्यक्षमण्डलले उनको नाम घोषणा गरेपछि अन्य प्रतिष्पर्धीहरुले आपत्ति जनाएका छन् ।
सरिता यसअघि उपसचिव थिइन् । २०७४ मा समानुपातिक प्रदेशसभा सांसद भएकी उनी ७९ को चुनावमा भने संखुवासभा १ ९१० मा पराजित भइन् ।
कोशीको अध्यक्ष बन्न ५ जनाले मनोनयन दर्ता गराएका थिए । महेश रेग्मी, उपाध्यक्ष धर्म निरौला, केशवकुमार विष्ट र विनोद खड्काले उम्मेदवारी दिएका थिए । तर, सर्वसम्मतका नाममा खड्कालाई टीका लगाइएको भन्दै अन्य आकांक्षी र प्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।
अध्यक्षका दाबेदार धर्म निरौलाले सर्वसम्मतका नाममा सबै प्रतिनिधिलाई घर पठाएर अध्यक्षमा खड्काको नाम सुनाएको टिप्पणी गरे ।
उनले हिजै निर्वाचन गर्न माग गरेको भएपनि सर्वसम्मतको प्रयास गरौँ भन्दै अध्यक्ष मण्डलले आजसम्म राखेर प्रतिष्पर्धा गर्न नदिइ टिका लगाएको आरोप लगाए ।
आफ्नो पक्षमा ७० प्रतिशत प्रतिनिधि भएको भन्दै निरौलाले हिजो भोटिङ भएको भए आफूले जित्ने दाबी गरे । तर कल, छल, बल र आलटाल गरेर टारेको उनको भनाइ छ । सबै प्रतिनिधिलाई घर पठाएर २ सय प्रतिनिधि भएपछि चुनाव गरौँ भनिएको उनले जिकिर गरे ।
नेकपा एस कोशीको अधिवेशनको नयाँ नेतृत्व चयनका लागि गठित अध्यक्ष मण्डलको अध्यक्ष राजेन्द्र राई थिए । पूर्वमुख्यमन्त्रीसमेत रहेका राई पार्टीका उपमहासचिव हुन् । अध्यक्ष मण्डलको राजन राई, जीवन राई, खिनु लंगवा, अशेष घिमिरे र विद्या चाम्लिङ थिए ।
उपाध्यक्षको नाम भने घोषणा भइसकेको छैन । सचिवमा जलेश्वर राईको नाम पढिएको छ । उपसचिवमा भवानी शंकर विक दलित तर्फबाट हिजै सर्वसम्मत भएका थिए । खुल्लातर्फ भने छिरिङ लामाको नाम हलमा सुनाइएको छ । महिला उप सचिवको नाम घोषणा हुन बाँकी छ । महिला उपसचिवमा सिर्जना लामा, विक्रमी चौधरी र मिरा दाहालले उम्मेदवारी हालेका छन् ।