चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल आफैले पार्टी छोडेको बताएका छन् । पोखरेलले शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन नमिल्ने दाबी गरे । उनले भने- ‘त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ ।’
भीम रावल एमालेको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको पोखरेलको भनाइ छ । संसद् भित्रको संसदीय ह्विप उल्लंघन गरेकै दिनबाट भीम रावलले एमाले छाडिसकेको पोखरेलले बताए । संसद विघटनपछिको परिस्थितिमा नेकपाको प्रचण्ड र माधव नेपाल पक्षधरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरु विपक्षमा उभिएका थिए ।
रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने तर आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलले आरोप लगाए ।
पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गरेको पोखरेलले बताए । त्यसको अर्थ उनले पार्टी छाडिसकेको पोखरेलको भनाइ छ ।