
पर्सा । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा शनिबार दिउँसो उत्पन्न तनावपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालद्वारा जारी आदेश अनुसार कर्फ्यु शनिबार साँझ ६ः३० बजेदेखि सुरु भई आइतबार (चैत ३१) मध्यान्ह १२ बजेसम्म लागू हुनेछ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार जारी गरिएको आदेशमा तोकिएको क्षेत्रभित्र कोही पनि व्यक्ति आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने उल्लेख गरिएको छ। सुरक्षालाई ध्यानमा राख्दै चारवटा सिमानाभित्र कर्फ्यु लागू गरिएको जनाइएको छ।
अहिलेसम्मको जानकारी अनुसार, शनिबार अपराह्न कुनै घटनालाई लिएर स्थिति तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण गर्न प्रशासनले कर्फ्यु आदेश जारी गर्न बाध्य भएको हो। कर्फ्यु अवधि भरमा सुरक्षा निकाय पूर्ण रूपमा सतर्क र परिचालित हुने जनाइएको छ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई तोकिएको समयसम्म घरमै बस्न र अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको छ।