
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पछिल्ला दिनमा एकपछि अर्को साथ गुमाउँदै गएको देखिएको छ। प्रारम्भमा एमालेकी उपमेयर सुनिता डङ्गोल र विभिन्न दलका वडाध्यक्षहरूले बालेनलाई साथ दिएको भए पनि हाल ती सबैसँगको सम्बन्ध चिसिएको छ।
वडाध्यक्षहरूले न्यूरोड फुटपाथ विस्तारका विषयमा विवाद भएपछि साथ छाडेका हुन्। कांग्रेसबाट निर्वाचित प्रवक्ता नवीन मानन्धरले पनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको प्रसंगमा बालेनको साथ त्यागेको बताइएको छ।
उपमेयर डङ्गोलले सुरुमा बालेनलाई समर्थन गरे पनि गुरागाईं प्रकरणपछि उनी खुलेरै विरोधमा उत्रिएको बताइएको छ। उनी नै कार्यपालिकाको बैठकमा बालेनविरुद्ध नेतृत्व गर्नेसम्मको भूमिकामा देखिएकी छन्।
कर्मचारी संगठनहरू समेत बालेनको निर्णयविरुद्ध ज्ञापनपत्र बुझाउँदै आन्दोलित भएका छन्। उनीहरूले बालेनका स्वकीय सचिव र नगर प्रहरी प्रमुखमाथि कारबाहीको मागसमेत गरेका छन्।
यसैबीच, बालेनलाई अघिसम्म समर्थन गरिरहेका राजावादीहरू पनि चिढिएका छन्। चैत १५ गतेको प्रदर्शनपछि पूर्वराजाका नाममा जरिवाना काटेपछि राजावादीहरूको पनि मोहभंग भएको बताइएको छ।
रास्वपाकी वडाध्यक्ष रेजिना श्रेष्ठ भने कुनै पक्षमा नरहेको र महानगरभित्र के भइरहेको छ भन्नेबारे अलमलमा रहेको बताएकी छन्। यद्यपि उनले समय–समयमा बालेनसँग भेट हुने गरेको जानकारी दिएकी छन्।