
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८२ काे अवसरमा देशवासीलाई शुभकामना दिँदै पार्टीभित्र ‘क्लिन पोलिटिक्स’ अर्थात् स्वच्छ राजनीतिकाे अभियान सुरु गर्न आवश्यक रहेको बताएका छन्।
नयाँ वर्षले सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको यात्रा तय गर्न प्रेरणा दिनुपर्नेमा जोड दिँदै उनले नेपालको वर्तमान अवस्था गम्भीर मोडमा रहेको उल्लेख गरे। “हामी यतिखेर इतिहासको त्यो दोबाटोमा छौं, जहाँ सामान्य त्रुटीले देशलाई गम्भीर संकटमा पुर्याउन सक्छ,” कोइरालाको शुभकामना सन्देशमा उल्लेख छ।
अन्तर्राष्ट्रिय परिवेशमा देखिएको ‘शीतयुद्ध–२’ को पृष्ठभूमिमा उनले स्वर्गीय नेतृव बिपी कोइरालाको ‘राष्ट्रिय मेलमिलाप’ नीति स्मरणीय रहेको भन्दै वर्तमान कांग्रेस नेतृत्वलाई विवेकपूर्ण निर्णय लिन आह्वान गरेका छन्।
“कांग्रेसभित्र इमान, नैतिकता र निस्वार्थ भावनाको पुनरागमन आवश्यक छ,” भन्दै कोइरालाले पार्टीभित्र देखिएका विकृति–विसंगतिविरुद्ध सचेतना जगाउन ‘क्लिन पोलिटिक्स’ अभियान अपरिहार्य भएको स्पष्ट पारे।
सन्देशमा उनले नेपाली संविधानलाई दक्षिणपन्थी प्रभावबाट जोगाउँदै समसामयिक सुधार गर्दै अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्। साथै, उनले कांग्रेसको आगामी महाधिवेशन समयमै सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन्।
“नयाँ वर्ष २०८२ को नारा ‘क्लिन पोलिटिक्स’ नभए जनतासँगको सम्बन्ध अझ चुँडिने खतरा छ,” कोइरालाले बताएका छन्।
अन्त्यमा उनले सन्देशमा लेखेका छन्, “देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्र देशले निकास पाउँछ। नयाँ वर्ष हामी सबैको मुहारमा सुख, शान्ति र समृद्धि ल्याओस्।”