
वाशिङ्टन, अप्रिल १५ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई फेरि एकपटक रुससँगको युद्ध सुरु गरेको आरोप लगाएका छन्। यो अभिव्यक्ति उनले आइतवार युक्रेनको सुमी शहरमा भएको रूसी मिसाइल आक्रमणमा ३५ जनाको मृत्यु र ११७ जना घाइते भएको घटनापछि दिएका हुन्।
ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “तपाईं आफ्नो भन्दा २० गुणा ठूलो राष्ट्रसँग युद्ध सुरु गर्नुहुन्न र त्यसपछि अरुले तपाईंलाई मिसाइल दिने आशा गर्नुहुन्छ।”
उनको भनाइले युक्रेन र रुसबीचको युद्धमा अमेरिकाको भूमिका र वर्तमान नीति माथि गम्भीर प्रश्न खडा गरेको छ।
‘तीन जनाका कारण लाखौंको मृत्यु’ — ट्रम्प
ट्रम्पले युद्धमा मृत्यु हुनेको संख्यालाई ‘दशौं लाख’ भन्दै दोष तीन नेतामाथि लगाए — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्की।
“पुटिन पहिलो, बाइडेन दोस्रो जसले थाहा नै पाएनन् के गरिरहेका थिए, अनि जेलेन्स्की जसले सोचे कि उसले युद्ध जित्न सक्छ,” ट्रम्पले भने।
सुमीमाथि रुसको ‘सबैभन्दा घातक’ आक्रमण
आइतवार रुसले युक्रेनको सुमी शहरमा गरेको मिसाइल आक्रमण यस वर्षको सबैभन्दा घातक नागरिक आक्रमण मानिएको छ। इस्कान्देर मिसाइलले चर्च जान लागेका सर्वसाधारणलाई लक्षित गर्दै विस्फोट गराएको थियो, जसमा एउटा बस पूर्ण रूपमा नष्ट भएको र सडकमा लासहरू छरिएका थिए।
रुसले भने उक्त आक्रमणमा युक्रेनी सैनिकहरूको बैठकलाई लक्षित गरिएको दाबी गरे पनि प्रमाण प्रस्तुत गरेको छैन।
जेलेन्स्कीलाई ट्रम्पको सुझावस् “शान्ति वार्ताका लागि ढिला भयो”
ट्रम्पले फेब्रुअरीमा ह्वाइट हाउसमा जेलेन्स्कीलाई भेट्दा शान्ति वार्ता सुरु नगरेकोमा गुनासो गरेका थिए। उता, जेलेन्स्कीले ‘ऋद्यक् टण् ःष्लगतभक’ कार्यक्रममा ट्रम्पलाई युक्रेन आउन र आफैं युद्धले पारेको विनाश हेर्न आग्रह गरेका छन्।
उनले भने, “कुनै पनि निर्णय वा वार्ताको स्वरूप तय गर्नु अघि कृपया यहाँ आइपुग्नुहोस्— अस्पताल, चर्च, बालबालिका, सर्वसाधारणलाई हेर्नुहोस्, जो मरेका छन् वा घाइते छन्।”
ट्रम्प–पुटिन सम्बन्धस् “उत्कृष्ट” फोन वार्ता र उपहारमा चित्र
ट्रम्पले गत महिना रुसी राष्ट्रपति पुटिनसँग “उत्कृष्ट” फोन कुराकानी भएको बताएका छन्। त्यसपछि पुटिनले ट्रम्पलाई आफ्नो चित्र उपहार पठाएका थिए। ट्रम्प प्रशासनले फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको एक प्रस्तावमा पनि रुसको विपक्षमा मतदान गर्न अस्वीकार गर्दै द्विपक्षीय सम्बन्ध सुधारतर्फ संकेत दिएको थियो।
रुस–अमेरिका वार्तास् स्थायी शान्तिको सम्भावना ?
ट्रम्पका विशेष दूत स्टिभ विटकोफले सेंट पिटर्सबर्गमा पुटिनसँग ५ घण्टा लामो भेट गरेका थिए। विटकोफले “स्थायी शान्ति”का लागि छलफल भएको र केही आर्थिक साझेदारीले “क्षेत्रीय स्थायित्व” ल्याउने विश्वास व्यक्त गरेका छन्।
यद्यपि क्रेमलिन प्रवक्ताले वार्ता “सकारात्मक भए पनि ठोस सहमति नभएको” बताएका छन्।