
काठमाडौं, वैशाख ३ — सांस्कृतिक संरक्षणदेखि शहरी नवप्रवर्तनसम्मका अभियानमा सक्रिय काठमाडौं महानगरकी उपमेयर सुनिता डङ्गोललाई वर्ल्ड इकोनोमिक फोरम ले वर्ष २०२४ का लागि विश्वका प्रभावशाली युवा नेताको सूचीमा समावेश गरेको छ।
डङ्गोललाई सार्वजनिक सेवा, युवाशक्तिको सशक्तिकरण, तथा सांस्कृतिक पहिचानको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा पुर्याएको योगदानका आधारमा विश्व मञ्चले ‘यंग ग्लोबल लिडर’ चयन गरेको हो।
उल्लेखनीय मतान्तरले उपमेयर निर्वाचित
२०८० सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेकी डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गर्दै उपमेयर पदमा निर्वाचित भएकी थिइन्। तत्कालीन ५ दलीय गठबन्धनका तर्फबाट प्रतिस्पर्धामा उत्रिएका नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत मात्र प्राप्त गरेका थिए।
७५३ वटै पालिकामध्ये सबैभन्दा धेरै मतान्तरले निर्वाचित उपप्रमुखको रूपमा डङ्गोलको जित ऐतिहासिक मानिएको छ।
सांस्कृतिक अभियन्तादेखि विश्व मञ्चसम्मको यात्रा
सुनिता डङ्गोल सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय रहिएकी छन्। उनले रैथाने लिपिको संरक्षणका लागि ‘क्यालिजात्रा’ अभियान सुरु गरेकी थिइन्। २०१३ मा ‘मिस नेवा’ उपाधि जितेकी उनले काठमाडौं महानगरपालिकाको नगर योजना आयोगको कान्छो सदस्यको भूमिका समेत निर्वाह गरिसकेकी छन्।
पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय, वल्र्ड टुरिज्म सिटिज फेडेरेसन समिट लगायतका अन्तर्राष्ट्रिय मञ्चमा मन्तव्य दिँदै नेपाली सांस्कृतिक सम्पदा र युवाशक्तिको प्रतिनिधित्व गरेकी छन्। सन् २०२४ मा काठमाडौंमा आयोजना गरिएको ‘वुमेन अफ वर्ल्ड फेस्टिभल’लाई समेत उनले सफलतापूर्वक नेतृत्व गरेकी थिइन्।
प्रेरणादायी नेतृत्वका गुणहरू
वर्ल्ड इकोनोमिक फोरमले सुनिताको बारेमा लेख्दै भनेको छ :
“सुनिता डङ्गोल सांस्कृतिक सम्पदा प्रवर्द्धन, युवाशक्ति सशक्तिकरण र शहरी नवप्रवर्तनमा समर्पित ऊर्जावान नेतृ हुन्। उनी समावेशी शासनप्रणालीकी पक्षधर हुन् र काठमाडौंका विविध समुदायहरूको आवाजलाई प्रतिनिधित्व गर्न निरन्तर दत्तचित्त छिन्।”
कलाप्रेमी व्यक्तित्वको रूपमा चिनिने डङ्गोल समृद्ध परम्पराको संरक्षण र दिगो शहरी विकासबीच सन्तुलन कायम गर्दै नयाँ युगकी नेतृका रूपमा उदाएकी छन्।