
सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा चैत २५ गते अर्धनग्न अवस्थामा मृत फेला परेकी चुनकुमारी बुढाथोकीको हत्या आफ्नै श्रीमान् प्रेमबहादुर बुढाथोकीको योजनामा भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा पारिवारिक संलग्नता पुष्टि गर्दै छ जना पक्राउ परेको जनाएको छ।
प्रहरीका अनुसार दक्षिण कोरियामा वैदेशिक रोजगारीमा रहेका श्रीमान् प्रेमबहादुरले नै हत्या योजना बनाएका थिए। उनलाई नेपाल फर्किएलगत्तै आज बिहान काठमाडौँ विमानस्थलबाट पक्राउ गरिएको हो।
अन्य पक्राउ परेका व्यक्तिहरूमा प्रेमबहादुरका भाइ ढकेन्द्र बुढाथोकी, उनकी श्रीमती सृष्टि बुढाथोकी, तथा पाँचथर स्थायी घर भई मोरङ उर्लाबारीमा बस्दै आएका योगेन्द्र गौतम र उनकी श्रीमती मिनु गौतम छन्। प्रहरीले उनीहरू सबैलाई आज सार्वजनिक गरेको हो।
घटनामा संलग्न अर्का एक जना भारतीय नागरिक भने फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका एसपी सुमन तिम्सिनाका अनुसार, चुनकुमारीलाई फकाएर जंगलमा लगेर घाँटी थिची हत्या गरिएको थियो। शवको पहिचान गर्न प्रहरीलाई तीन दिन लागेको थियो। घटनाको मूल कारण पारिवारिक विवाद र असन्तुष्टि रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
महालक्ष्मी नगरपालिका–१ माइतीघर भएकी चुनकुमारी विगत दुई वर्षदेखि इटहरीको हलगडामा डेरामा बस्दै थिइन्। उनी छोरालाई पढाउँदै आएकी थिइन ।