विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले दुई ठुला दलका नेताहरुमाथिको घेराबन्दी र प्रहार व्यवस्था र प्रणाली माथिकै प्रहार भएको बताएका छन् । आज विराटनगरमा नेकपा एमाले मोरङले आयोजना गरेको नेपाल पत्रकार महासंघको निर्वाचनमा विजयी पत्रकारहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै नेता राईले व्यवस्था र प्रणालीलाई कमजोर बनाउन नियोजित रुपमा दुई ठुला दलका नेताहरुमाथि प्रहार भइरहेको बताए । उनले भने- ‘ठुला दलका नेताहरु माथि घेराबन्दी र प्रहार भइरहेको छ । यो व्यवस्था माथि नै, प्रणाली माथि नै नियोजित रुपमा भइरहेको प्रहार हो ।’
नेता राईले अहिले अस्थिरता र सुशासन कायम गर्नु देशको चुनौति बनेको चर्चा गर्दै यही चुनौति सामना गर्न दुई ठुला दलहरु मिलेर सरकार बनाउने अवस्था आएको प्रस्ट्याए ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका राईले संविधान र संघियता कार्यान्वयनकै चरणमा रहेको तथा अझै कानुनहरु बन्न बाँकी रहेको बताए । उनले संविधान र संघीयता सरल र छिटो कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिँदै भने- ‘पूर्ण रुपमा अधिकारको प्रयोग गर्दै कसरी राष्ट्र निर्माणमा जोड्न सकिन्छ यसका लागि नेपाल पत्रकार महासंघले खबरदारी गर्न आवश्यक छ ।’
तीन तहका सरकाबिच अधिकारहरु बाँडफाड भएर पूर्ण रुपमा अभ्यास नभइसकेको अवस्थामा दवाब दिन पनि आवश्यक रहेकोमा जोड दिए ।