
मोरङ । शिक्षक आन्दोलन जारी रहेका बेला मोरङको पोखरिया माविले वैशाख ६ गते सञ्चालन गरेको प्रवेश परीक्षाप्रति जिल्लाका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले आपत्ति जनाएका छन्।
शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै २१ वटा विद्यालयका प्रधानाध्यापकहरूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा नेपाल शिक्षक महासंघ मोरङको निर्देशन विपरीत परीक्षा सञ्चालन गरिएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।
विज्ञप्तिमा नेपाल शिक्षक महासंघ मोरङ जिल्ला कार्यसमितिको निर्देशनअनुसार परीक्षा रोक्न गएका महासंघ सदस्य शिक्षकहरूलाई विद्यालय प्रशासनले सुरक्षाकर्मीको सहयोगमा ‘गुण्डा’को संज्ञा दिँदै कोठामा बन्दी बनाएर परीक्षा सञ्चालन गरेको दाबी गरिएको छ। सो घटनाप्रति घोर आपत्ति प्रकट गर्दै विज्ञप्तिमा भनिएको छ, “यस्तो गैरजिम्मेवार क्रियाकलापले महासंघको आन्दोलनलाई गम्भीर धक्का पुर्याएको छ।”
नेपाल शिक्षक महासंघले २०८१ साल चैत्र २० गतेदेखि सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ। महासंघको स्पष्ट निर्देशनका बाबजुद पोखरिया माविका विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले आन्दोलनको भावनाविपरीत प्रवेश परीक्षा सञ्चालन गर्नु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ।
प्रवेश परीक्षाजस्तो गतिविधि आन्दोलनकै समयमा सञ्चालन गर्नु आन्दोलनको मर्मविपरीत भएको भन्दै महासंघले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने विद्यालयहरूको भनाइ छ।
प्रधानाध्यापकहरूद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई कारबाहीको लागि नेपाल शिक्षक महासंघसमक्ष माग गरेको छ।