इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तुरुन्त वित्तिय समस्या समाधान आयोग गठन गर्न माग गरेका छन् । आज सुनसरीको इटहरीमा राप्रपा नेपालले आयोजना गरेको वृहत विरोध सभा कार्यक्रममा उनले आयोग गठन नगरे राप्रपाले आन्दोलन गर्ने चेतावनी दिए ।
अब राप्रपा मुकदर्शक बनेर नबस्ने भन्दै उनले भने- ‘मजदुरको समस्या, सुकुम्बासी, सहकारीपीडितको समस्या, सरकारले वित्तिय समस्या समाधान आयोग तुरुन्त गठन गरोस्, नभए राप्रपाले आन्दोलन सुरु गर्ने छ । अब राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्छ । घरबार विहिन हुने र आत्महत्या गरेको हेरेर बस्दैनौँ ।’
अध्यक्ष लिङ्देनले सबै दलका नेताहरुको सम्पत्ति छानबिन हुनु पर्ने माग गरे । उनले सम्पत्ति शुद्धिकरणको तरबार रास्वपा सभापति रवि लामिछानेको चलिसकेको भन्दै उनले अब त्यो तरबार त्यतिकै दापमा थन्क्याउन नमिल्ने बताए । उनले भने – ‘अब यो तरबार राजेन्द्र लिंदेनमाथि, चलाउनु पर्छ । अब शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड सबैको सम्पत्ति छानबिन हुनु पर्याे । सम्पत्ति सुद्धिकरणको तरबार दापबाट निस्कियो । अब दापमा नराख्नुहोस् । तपाई नेताको सम्पत्तिको श्रोत के के हो भन्ने खोल्नु पर्छ ।’
अध्यक्ष लिङ्देनले आजदेखि भ्रष्टचारको भण्डाफोर गर्ने अभियान सुरु गरेको भन्दै देशभर अभियान चलाउने बताए ।