
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्ड बैठकले परीक्षा समन्वय समिति मार्फत् परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको लागि आवश्यक तयारी गर्न आग्रह गर्ने निर्णय गरेको एक बोर्ड सदस्यले जानकारी दिए।
बोर्डको निर्णय अनुसार परीक्षा यही बिहीबार, वैशाख ११ गतेदेखि सुरु हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।
यसअघि शिक्षकहरूको आन्दोलनका कारण परीक्षा प्रभावित हुने आशंका बढेको थियो। आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न दबाब दिँदै कक्षा १२ को परीक्षामा सहभागी नहुने घोषणा गरेका थिए। सोही विषयमा निर्णय गर्न आज विशेष बैठक बोलाइएको थियो।
बोर्ड स्रोतका अनुसार विद्यालयहरूलाई आवश्यक सहयोग र समन्वय गरेर परीक्षा सफल बनाउन जिल्लास्तरीय संयन्त्रहरू सक्रिय बनाइनेछ।
शिक्षकहरू र सरकारबीचको संवाद अझै प्रगति नहुँदा परीक्षा संचालन चुनौतीपूर्ण हुने अनुमान गरिएको छ। तथापि, बोर्डले विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने अडान लिएको हो।