
धनुषा । धनुषाको शहीदनगर नगरपालिका–५, बासुदेवपट्टिमा एक आमाले आफ्नै तीन सन्तानलाई विष खुवाएर ज्यान लिएकी छन्। पारिवारिक कलहका कारण यस्तो हृदयविदारक घटना भएको आशंका गरिएको छ।
स्थानीय सुशील साहकी श्रीमती ३० वर्षीया बबिता साहले सोमबार साँझ करिब ६:४० बजे ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया आकृति र २ वर्षीया आरुसीलाई विष खुवाएकी थिइन्। त्यसपछि आफैंले पनि आत्महत्या प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
अचेत अवस्थामा फेला परेका उनीहरूलाई छिमेकीहरूले तत्कालै जनकपुरस्थित अस्पताल लगेका थिए, तर तीनै बालबालिकाको ज्यान जोगाउन सकिएन। बबिता अहिले प्रादेशिक अस्पताल जनकपुरको भेन्टिलेटरमा जीवन र मृत्युको संघर्षमा छिन्।
प्रहरीका अनुसार घटनाबारे जानकारी दिइन ढिला भएको र राति करिब ९ बजे मात्र टोली घटनास्थलमा पुगेको थियो। पारिवारिक तनाव, श्रीमानको लामो समयदेखि घरबाहिर बसोबास र आर्थिक समस्याले गर्दा मानसिक तनाव चुलिएको प्रारम्भिक जानकारी आएको छ।
एकैसाथ तीन नानीहरूको निधनले गाउँभरि शोकको माहोल छाएको छ। विस्तृत अनुसन्धानपछि मात्र घटना स्पष्ट हुने प्रहरीको भनाइ छ।