
काठमाडौं । मन्त्रिपरिषद्मा हालै नियुक्त भएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई सरकारको बरियताक्रममा आठौँ स्थानमा राखिएको छ।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको २४ सदस्यीय मन्त्रिपरिषद्को सूचीमा पन्त आठौँ नम्बरमा अटाएका हुन्। उक्त सूचीमा दुई जना राज्यमन्त्री पनि छन्।
बरियताक्रमअनुसार प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा पहिलो स्थानमा रहेका छन् भने उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह दोस्रो स्थानमा छन्। त्यसपछि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल तेस्रो, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ चौथो, गृहमन्त्री रमेश लेखक पाँचौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी छैटौँ र परराष्ट्रमन्त्री डा। आरजु राणा सातौँ स्थानमा रहेका छन्।
शिक्षामन्त्री पन्तपछि खानेपानीमन्त्री प्रदीप यादव नवौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी दशौँ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी एघारौँ स्थानमा छन्।
नेकपा एमालेबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने मन्त्रीहरूभित्र पन्त चौथो वरियतामा परेका छन्। यसले उनी पार्टीभित्र समेत महत्वपूर्ण स्थानमा रहेको संकेत गर्छ। यद्यपि मन्त्रिपरिषद्को वरियताले प्रशासनिक कामकाजको प्राथमिकता निर्धारण गर्ने भए पनि यसले राजनीतिक प्रभाव र पहुँचको स्तर पनि देखाउने गर्छ।
पन्त हालै मात्र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा नियुक्त भएका हुन्। उनमा शिक्षाको सुधार, प्रविधिको विस्तार र अनुसन्धानमैत्री वातावरण निर्माणका विषयमा स्पष्ट दृष्टिकोण रहेको बताइएको छ।