
काठमाडौं । भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेको आज अन्त्येष्टि गरिएको छ। बुटवल–११, कालिकानगरका ३९ वर्षीय सुदीपको शव त्रिवेणी घाटमा नेपाली हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।
श्रीनगरमा भएको आक्रमणमा परेर ज्यान गुमाएका सुदीपको शव बिहीबार बिहान गृहनगर ल्याइएको थियो। शवलाई श्रीनगरबाट दिल्ली, दिल्लीबाट लखनऊ, त्यसपछि सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो।
शव केही समय उनको निवासमा राखेर श्रद्धाञ्जली दिइएको थियो। परिवारका सदस्य, आफन्त, छिमेकी र सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा अन्त्येष्टि गरिएको हो।
सुदीप आफ्नी आमा, बहिनी र ज्वाइँसँग कश्मीर घुम्न गएका बेला आक्रमणमा परेका थिए। सुदीपका परिवार सदस्यहरू सकुशल रहेका छन्।
यो घटनाले सुदीपको परिवार मात्रै होइन, बुटवल नै शोकमा डुबेको छ । स्थानीयहरूले उनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरेका छन्।