
विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ( मानगढ खानेपानी आयोजना)को निर्वाचन आगामी जेठ १० गते हुने भएको छ। निर्वाचनको मिति आज मोरङ जिल्ला प्रशासन कार्यालयमा बसेको छलफलबाट तय गरिएको हो।
बैठकले निर्वाचनको सम्पूर्ण जिम्मेवारी मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई दिने निर्णय गरेको छ। बैठकमा अध्यक्ष पदका तीन उम्मेदवार—लालमणि भट्टराई, राम घिमिरे र दुर्गा चापागाई—सहित विराटनगर महानगरपालिका वडा नम्बर १, २, ३, ४ र बुढीगंगा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षहरूको सहभागिता रहेको थियो।
निर्वाचनका लागि मतदान स्थल चयन सम्बन्धी थप निर्णय गर्न वैशाख १७ गते बुधबार पुनः बैठक बस्नेछ। प्रारम्भिक रूपमा पोलिस्टार बोर्डिङ स्कुल, प्यारागन बोर्डिङ स्कुल, पूर्वाञ्चल विश्वविद्यालय र पोखरिया विद्यालयको नयाँ भवन तथा औषधि व्यवस्था विभागलाई सम्भावित मतदान केन्द्रको रूपमा प्रस्ताव गरिएको छ। तीमध्ये एक स्थानलाई सुरक्षा दृष्टिले उपयुक्त ठानी प्रमुख जिल्ला अधिकारीले अन्तिम रूप दिनेछन्।
यसअघि उच्च अदालत विराटनगरले गत फागुन २७ गते पुनः निर्वाचन गर्न आदेश दिएको थियो। अदालतले अघिल्लो वर्ष जेठ १९ गते स्थगित भएको निर्वाचनका उम्मेदवार र मतदाता यथावत् राखेर तीन महिनाभित्र मतदान गर्न निर्देशन दिएको हो।
निर्वाचन प्रक्रियाका लागि तीन सदस्यीय पदाधिकारी टोली गठन गर्न उच्च अदालत बार एसोसिएसनलाई अनुरोध गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।