विराटनगर । विराटनगर वडा नम्बर १४ ले किशोरीहरुलाई अध्ययनमा प्रोत्साहन गर्न वडाभित्रका एसईई र कक्षा १२ पास गरेका छात्राहरुलाई साइकल वितरण गरेको छ ।
वडाभित्र अझैपनि छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउने चलन नभएको कारण प्रोत्साहन गर्न आफू निर्वाचित भएर आएपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए । प्रोत्साहनलाई निरन्तरता दिँदै यो वर्ष पनि एसईई र १२ कक्षा उत्तिर्ण भएका १५ जना छात्राहरुलाई साइकल वितरण गरिएको उनको भनाइ छ ।
अधिकाँश किसानहरुको बसोबास रहेको सो वडामा छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउन प्रोत्साहन दिन आवश्यक रहेको उनको भनाइ छ । एसईई उत्तिर्ण भएका ११ जना र कक्षा १२ उत्तिर्ण गरेर स्नातक तह अध्ययन गर्न थालेका ४ जना छात्रालाई साइकल वितरण गरिएको हो ।
वडाध्यक्ष महतोले निर्वाचित भएको वर्ष वडाभरीबाट एसईई पास गरेका १० जना जना छात्राहरुलाई १० हजार रुपैयाँ प्रोत्साहन स्वरुप वितरण गरेको जानकारी दिए । गत वर्ष वर्ष ३२ जना छात्राहरुलाई साइकल वितरण गरिएको थियो ।