१६ बैशाख २०८२, मंगलबार

एनएसएलको फाइनल शनिबार, ललितपुर सिटी एफसी र पोखरा थण्डर्स उपाधिको लागि भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच शनिबार निर्णायक प्रतिस्पर्धा हुने भएको छ।

एक मात्र खेल बाँकी रहँदा उपाधिका दौडमा यी दुई टोली अन्तिम दुई दावेदारका रूपमा उभिएका छन् । साविक विजेता ललितपुर अपराजित रहँदै दोस्रो पटक लगातार फाइनल पुग्दै उपाधि रक्षा गर्ने तयारीमा छ भने पहिलो पटक फाइनल यात्रा तय गरेको पोखरा थण्डर्स पहिलो उपाधि उचाल्ने लक्ष्यमा छ।

दुवै टिमले क्वालिफायर चरणमा पूर्व उपविजेता धनगढी एफसीलाई हराउँदै फाइनल स्थान सुरक्षित गरेका हुन्। विशेष कुरा के छ भने—दुवै टोलीले १० खेलाडीमा सीमित भएर पनि धनगढीलाई पराजित गरेका थिए ।

लिग चरणमा ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो। पहिलो क्वालिफायरमै धनगढीलाई २–१ ले हराउँदै फाइनल स्थान पक्का गरेको ललितपुर सिजनभर अपराजित छ। टोलीका मणि लामा र पापे डिएकेट क्वालिफायर खेलमा रातो कार्ड पाएपछि मणिको निलम्बन फिर्ता भएको र उनी फाइनल खेल्न पाउने निश्चित भएको छ, जसले टोलीलाई थप बलियो बनाएको छ।

अर्कोतर्फ, पोखरा थण्डर्सले कमजोर सुरुवातपछि उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा तय गरेको छ। लिग चरणमा चौथो स्थानमा रहेको पोखराले प्लेअफमा चितवनलाई ३–० र धनगढीलाई १–० ले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको हो।

लिग चरणमै यी दुई टोलीबीचको भेटमा ललितपुरले पोखरालाई ३–२ ले पराजित गरेको थियो। त्यसैले ललितपुर जितको लय कायम राख्न चाहन्छ भने पोखरा बदला लिँदै नयाँ इतिहास रच्न चाहन्छ।

ललितपुरको अनुभव र स्थायित्वविरुद्ध पोखराको पुनरागमन र आत्मबलबीचको यो भिडन्त दर्शकका लागि रोमाञ्चक हुने निश्चित छ। अब उपाधिको टुंगो शनिबार बेलुकासम्म लाग्नेछ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क