
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनपछि भाटभटेनी सुपरस्टोरमा भएको लुटपाटको घटनामा नेपाली कांग्रेसका एक वरिष्ठ नेताका छोराको संलग्नता देखिएको छ। तपाईंलाई थाहा नै होला—त्यो दिनको भिड र तोडफोडपछि देशैभर चासो बनेको थियो।
अब सार्वजनिक भएका विवरणअनुसार, नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवका छोरा सो लुटपाटमा प्रत्यक्ष संलग्न थिए। सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूकै आधारमा उनी पक्राउ परेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संघीय संसदको वर्षे अधिवेशनको पहिलो बैठकमै यो विषय उठाउँदै यादवका छोरालाई प्रहरी हिरासतबाट “माथिको दबाब” मा तुरुन्तै छाडिएको प्रमाण आफूहरूसँग रहेको दाबी गरे । उनले सहमहामन्त्री भने पनि नाम भने खुलाएका थिएनन् ।
“हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू,” लिङ्देनले संसदमा भने, “तपाईंको पार्टीकै सह-महामन्त्रीका छोरा पक्राउ परेका थिए। तर तुरुन्तै किन छाड्नुभयो रु ” उनले घटनास्थलमा यादवका छोराले रक्सी लुटेको र उहाँसँगै रहेका अर्का व्यक्तिले ‘कपडा काम लाग्छ’ भन्दै कपडा बोकेको दाबी गरे ।
प्रहरी स्रोतका अनुसार, यादवका छोरालाई पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो। तर, उनलाई कांग्रेस नेताको छोरा भएको थाहा पाएपछि गृह मन्त्रालयमार्फत दबाब आएको र अन्ततः मुद्दा नचलाइ छाडिएको खुलासा भएको हो।
लिङ्देन निकट स्रोतका अनुसार, “माथिबाटको आदेशअनुसार छाडिएको” भन्ने कुरा प्रहरी अधिकारीहरूले नै बताएका हुन्। “हामीले हावादारी कुरा गरेका होइनौं, प्रमाण हामीकहाँ छन्,” स्रोतले भन्यो।
यसबारेमा जिल्ला प्रहरी परिसरका प्रमुख विश्वराज अधिकारी र प्रवक्ता अपिलराज बोहोरा दुवैले कुनै प्रतिक्रिया दिन मानेनन्। तर, घटनाले सत्ता पक्षले प्रहरी प्रशासनमा प्रभाव पारिरहेको देखाएको भन्दै धेरैले आपत्ति जनाएका छन्।