
काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ। साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्सबीच आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेल हुनेछ।
यस संस्करणमा सात टोलीले प्रतिस्पर्धा गरेका थिए। ललितपुर सिटी एफसी अपराजित रहँदै सोझै फाइनलमा पुगेको हो। उसले पहिलो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
फाइनलको अर्को प्रतिस्पर्धी पोखरा थन्डर्स भने लिग चरणको चौथो स्थानबाट प्लेअफमा प्रवेश गरेको थियो। समान ८ अंक भए पनि गोलअन्तरका आधारमा काठमाडौं रेजर्सलाई पछि पार्दै पोखराले एलिमिनेटर चरणमा स्थान बनाएको थियो। एलिमिनेटरमा चितवन एफसीलाई ३–० ले हराएको पोखराले दोस्रो क्वालिफायरमा पुनः धनगढी एफसीलाई १–० ले पराजित गर्दै फाइनल स्थान सुनिश्चित गरेको हो।
लिग चरणमा ललितपुर र पोखराबीचको खेलमा ललितपुरले ३–२ को जित निकालेको थियो।
फाइनल जित्ने टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट ९एनएसईएम० ले पत्रकार सम्मेलनमार्फत पुरस्कार राशी सार्वजनिक गरेको हो।
त्यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक लगायतलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।