
विराटनगर । इलामको माई नगरपालिका–४ सिञ्जालीटारमा एक ज्वाइँले धारिलो हतियार प्रयोग गरी आफ्नी जेठीसासूको हत्या गरेका छन्।
५२ वर्षीया भूमिका चापागाईंको शुक्रबार साँझ हत्या भएको हो। सोही वडाका ४२ वर्षीय शान्तिराम दुलाल (बहिनी ज्वाइँ)ले चापागाईंलाई टाउकामा धारिलो हतियारले आक्रमण गरेको इलाम प्रहरीले जनाएको छ।
शुक्रबार साँझ ७ बजेतिर छिमेकीकोमा दूध लिन जाँदै गर्दा शान्तिरामले चापागाईंमाथि आक्रमण गरेका थिए। गर्दन र कन्चटमा गहिरो चोट लागेकी चापागाईंलाई तत्काल माई अस्पताल पुर्याइए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लैजाने क्रममा राति १०:२० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
शान्तिराम र उनकी श्रीमती गीताबीच मानाचामल तथा अंश सम्बन्धी मुद्दा चलिरहेको थियो। सो क्रममा भूमिका चापागाईंसँग पनि अदालत परिसरमै शान्तिरामको विवाद भएको र त्यसपछि भूमिकाले शान्तिरामविरुद्ध अभद्र व्यवहारको उजुरी दर्ता गराएकी थिइन्।
उक्त उजुरीपछि प्रहरी शान्तिरामको खोजीमा रहेको थियो। घटनापछि उनलाई नियन्त्रणमा लिइसकिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।