
विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा जनादर्न शर्मा समूहका दिनेशकुमार राजवंशी देव विजयी भएका छन् । आज भएको मतदानमा उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षकी नेतृ नमिता न्यौपानेलाई पराजित गर्दै विजयी भए । देवले ४६ मत ल्याउँदा नमिताले ३५ मत प्राप्त गरिन् ।
गत आइतबार भएको माओवादीको नगर सम्मेलनबाट ८१ सदस्यीय कार्यसमिति छनौट भएपनि पदाधिकारी छानिएका थिएनन् । माओवादीको विधानमा छानिएका कार्यसमिति सदस्यहरुले पदाधिकारी छान्ने व्यवस्था छ । कार्यसमिति सदस्यहरुको मतदानबाट आएको परिणाम अनुसार देवसहित उपाध्यक्षमा चन्द्र बहादुर वन, धर्मलाल माझी र सनोजकुमार यादव निर्वाचित भएका छन् । सचविमा सोनु केवट र सहसचिवमा दिनेशकुमार कामत विजयी भए ।
एक सातासम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि नेकपा माओवादी केन्द्र विराटनगर महानगरमा पदाधिकारी चयनका निर्वाचनबाट गरिएको हो ।
गतआइतबार अधिवेशनको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । नमितालाई ग्रिन सिग्नल दिएर सहमतिमा नेतृत्व चयन गर्न भने पनि जनार्दन समूहले उनको निर्देशन अटेर गर्दा निर्वाचन भएको हो । जनार्दन समूहकोतर्फबाट केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री शिवकुमार मण्डलले विराटनगरमा माओवादीको छुट्टै प्यानल बनाएका छन् ।