
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै शयनकक्ष (बेडरुम) सम्म बिचौलियाको पहुँच भएको आरोप प्रमाणित गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् ।
मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुनै आधार नभई आरोप लगाउनेहरूको आलोचना गरे। ‘राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजसरम पचाएर यस्ता आरोपहरू लगाएका छन्,’ उनले भने, ‘यदि बेडरुमसम्म बिचौलिया पुगेका छन् भने प्रमाणित गर्नुस्।’
कांग्रेस महामन्त्री गगन थापाले २ वैशाखमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच रहेको बताएका थिए। थापाले निजी क्षेत्र र बिचौलियाबीच फरक छुट्याउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारण आएको जिकिर गरेका थिए।
प्रधानमन्त्री ओलीले एमाले र कांग्रेसको सहभागितामा बनेको सरकार स्थिरता, विकास र सुशासनका पक्षमा काम गरिरहेको बताए। ‘झूटा आरोप लगाएर सरकारविरुद्ध हल्ला फैलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘हामीले देश बर्बाद बनाएका छैनौं, हामी सत्य र इमानको राजनीतिमा अडिएका छौं।’
प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्यान्डबाट फर्किएपछि सरकार ढल्ने भन्ने प्रचारमा पनि कटाक्ष गरे। ‘अब त तिनीहरूको टाउकामा चिसो पानी खन्याइएको महसुस भएको छ,’ उनले व्यंग्य गरे।
कार्यक्रममा ओलीले पार्टीभित्र एकताको चेत आवश्यक रहेको भन्दै, बाहिरी आरोपहरूको दृढतापूर्वक खण्डन गर्नुपर्नेमा जोड दिए।