
सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका १०, बदगामामा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा सप्तकोशी नगरपालिका १ का ७५ वर्षीय रत्न बहादुर मगरातीको मृत्यु उपचारको क्रममा विराटनगरमा भएको प्रहरीले जानकारी दिएको छ। उदयपुरको गाइघाटबाट काकडभिट्टा आउँदै गरेको बस दुर्घटनामा परेको हो ।
उदयपुरबाट बिराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई पल्टिन पुगेको थियो। दुर्घटनामा बसमा च्यापिएर एक पुरुष र एक महिला घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुबैको नाम र थर अझै खुल्न सकेको छैन।
घटनामा अन्य ६ जना घाइते भएका छन्, जसमा सप्तकोशी नगरपालिका १ का २१ वर्षीय सुबेता दाहाल, २६ वर्षीय चेतना भट्टाई, झापा ३ का मनोज भट्टराई, मिना भट्टराई, उदयपुर चौडण्डीगढी नगरपालिका ५ की ५९ वर्षीय कमला भुसाल र नाम नखुलेको ७५ वर्षीय एक पुरुष रहेका छन्। घाइतेलाई कञ्चनरुप नगरपालिका १२ स्थित धर्मेश्वर अस्पतालमा प्राथमिक उपचार पछि विराटनगर रेफर गरिएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेको नेतृत्वमा उद्धार टोली खटाइएको थियो। बसका चालक फरार भएको कारण प्रहरी खोजीमा जुटेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।