
काठमाडौं ।कलाकार दीपकराज गिरीले नेपाली समाजमा असहिष्णुता बढ्दै गएको चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत विचार राख्दै गिरीले ‘बहिष्कार’ को प्रवृत्ति हाम्रो परम्परा जस्तै बन्दै गएको टिप्पणी गरेका छन्।
“आज म लेख्दैछु… दशैँमा हाम्रो फिल्म चल्दा सामाजिक सञ्जालमा यसको फिल्म नहेर्नु भनेर बहिष्कारको नारा गुन्जिएको सम्झन्छु,” गिरीले लेखेका छन्। उनी भन्छन्, “बहिष्कारको बहाना फरक फरक भए पनि त्यो नारा बिस्तारै प्रकाश सपूत हुँदै सुरक्षा पन्तसम्म आइपुग्यो।”
गिरीका अनुसार, अहिलेको अवस्थामा कसैले कसैको तारिफ गरे पनि बहिष्कार, कसैले नगरे पनि बहिष्कार गर्ने प्रवृत्ति मौलाएको छ। “हामी कलाकार त बहाना मात्रै हौं। वास्तवमा अहिले राजावादीले गणतन्त्रवादीलाई बहिष्कार गर्छन्, गणतन्त्रवादीले राजावादीलाई। एउटाले अर्काको विचार मात्रै होइन, अस्तित्वसम्म बहिष्कार गर्न खोज्छ,” गिरीले उल्लेख गरेका छन्।
उनले बहिष्कार संस्कृति समाजमा असहिष्णुताको सङ्केत भएको र यस प्रवृत्तिले समाजलाई बिस्तारै झन् विभाजित बनाउने चिन्ता व्यक्त गरे।
“बहिष्कार त हाम्रो परम्परा नै बन्दै गइरहेको छ। बिस्तारै असहिष्णुतातिर बढ्दैछ कि हाम्रो समाज?” गिरीले प्रश्न उठाएका छन्।
दीपकराज गिरी नेपालको चर्चित हास्यकलाकार, अभिनेता तथा निर्माता हुन्।