
म्याड्रिड । स्पेन र पोर्चुगलका धेरै भागहरूमा सोमबार दिउँसो अचानक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित भएको छ। ट्राफिक बत्तीहरू बन्द भएपछि सडकमा अव्यवस्था सिर्जना भएको छ भने विमानस्थल र रेल स्टेसनहरूमा पनि ठूला अवरोध देखिएको छ।
स्पेनको विद्युत् ग्रिड सञ्चालनकर्ता रेड इलेक्ट्रिका (Red Electrica) ले विद्युत् सेवा पुनःस्थापना गर्न ऊर्जासम्बन्धी कम्पनीहरूसँग मिलेर काम भइरहेको जनाएको छ। “घटनाका कारणहरूको विश्लेषण भइरहेको छ र समस्याको समाधानमा सबै स्रोतहरू परिचालन गरिएको छ,” कम्पनीले एक विज्ञप्तिमा जनाएको छ।
सीएनएनका अनुसार, रेड इलेक्ट्रिकाले उपलब्ध गराएको वास्तविक समयको तथ्याङ्कमा दिउँसो १२:३० बजेतिर (स्थानीय समय) विद्युत् आपूर्तिमा ठूलो गिरावट देखिएको छ। चार्टमा पहेँलो रेखाले अचानक पूरै देशभर बिजुली आपूर्ति घटेको देखाउँछ।
हालसम्म विद्युत् सेवा क्रमशः सामान्य अवस्थामा फर्किँदै गएको छ। यद्यपि, समस्या समाधान नभएसम्म विभिन्न सार्वजनिक सेवामा अवरोध कायम रहने अधिकारीहरूले बताएका छन ।